आजदेखि लाइसेन्सका सबै सेवा अनलाइनबाट, स्वास्थ्य परीक्षणका लागि मात्रै कार्यालय पुग्नुपर्ने

User Image Prime TV News एक दिन अगाडि
Image of आजदेखि लाइसेन्सका सबै सेवा अनलाइनबाट, स्वास्थ्य परीक्षणका लागि मात्रै कार्यालय पुग्नुपर्ने

काठमाडौ । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।

विभागका अनुसार अब नयाँ लाइसेन्सका लागि आवेदन, नवीकरण, राजस्व भुक्तानीलगायत अधिकांश प्रक्रिया अनलाइनबाटै गर्न सकिनेछ। सेवाग्राहीले स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

अनलाइन सेवालाई थप व्यवस्थित बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको छ। अब सेवाग्राहीले आफू बसोबास गर्ने प्रदेशअनुसारको पोर्टलमार्फत आवेदन तथा अन्य सेवा लिन सक्नेछन्।

विभागका निर्देशक केशव खतिवडाका अनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एप प्रयोग गर्ने सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेर आवेदन फाराममा आफ्नो व्यक्तिगत विवरण स्वतः भर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ। यसले फारम भर्ने प्रक्रिया अझ छिटो र सहज हुने अपेक्षा गरिएको छ।

यद्यपि नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीले भने साविककै प्रक्रियाअनुसार आवश्यक व्यक्तिगत विवरण भरेर आवेदन दिन सक्ने व्यवस्था यथावत् राखिएको विभागले जनाएको छ।

विभागका अनुसार पूर्ण अनलाइन प्रणाली लागू भएपछि फारम भर्न वा राजस्व तिर्न बैंक तथा कार्यालयमा लामो लाइन बस्नुपर्ने बाध्यता हट्नेछ। यसले लाइसेन्स सेवा थप छिटो, पारदर्शी, सहज र झन्झटमुक्त हुने विश्वास विभागले लिएको छ।