नयाँ बसपार्कको गेस्ट हाउसमा युवती मृत फेला, हत्याको आशङ्कामा अनुसन्धान
Prime TV News एक दिन अगाडि 
काठमाडौ । काठमाडौँको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा २५ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्।
आइतबार गेस्ट हाउसको एक कोठाबाट दुर्गन्ध आएपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँको माछापोखरी बस्दै आएकी निशा सुनुवारको शव फेला पारेको हो।
प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अवस्थालाई आधार मान्दै मृत्यु शंकास्पद देखिएकाले हत्याको कोणबाट समेत अनुसन्धान अघि बढाइएको छ। शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।







