दिल्लीमा ‘चलो संसद्’ मार्चमा प्रहरीको लाठीचार्ज, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप

User Image Prime TV News एक दिन अगाडि
Image of दिल्लीमा ‘चलो संसद्’ मार्चमा प्रहरीको लाठीचार्ज, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप

काठमाडौ । भारतको राजधानी दिल्लीमा सोमबार आयोजित ‘चलो संसद्’ मार्चका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रदर्शन नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। राजधानीको जन्तरमन्तर क्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीहरूको ठूलो भीड जम्मा भएको थियो। उनीहरू संसद्को मनसुन अधिवेशनको पहिलो दिन संसद् भवनतर्फ मार्च गर्दै आफ्ना माग प्रस्तुत गर्ने तयारीमा थिए।

समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेको भिडियोमा र्‍यापिड एक्सन फोर्स (आरएएफ) का सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न लाठी प्रयोग गरेको देखिएको छ। घटनाका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल तथा झडपसमेत भएको बताइएको छ।

दिल्ली प्रहरीले उक्त मार्चका लागि कुनै अनुमति नदिइएको जनाएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै संसद् आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ। भारतको संसद्को मनसुन अधिवेशन सोमबारदेखि सुरु भएको छ। त्यसै दिन आयोजित प्रदर्शनका कारण राजधानीका केही क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।