बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो मानवअधिकार आयोगलाई स्पष्टीकरण

User Image Prime TV News एक दिन अगाडि
Image of बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो मानवअधिकार आयोगलाई स्पष्टीकरण

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगलाई स्पष्टीकरण दिएको छ।

बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने विषय सार्वजनिक भएपछि आयोगले गत असार १५ गते रास्वपालाई पत्र पठाउँदै घटनाबारे सत्यतथ्य जानकारी मागेको थियो। मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार रास्वपाले आयोगको पत्रको लिखित जवाफ पठाइसकेको छ।

“सोधिएको प्रश्नको जवाफ आइसकेको छ। अनुसन्धान महाशाखाले जवाफ प्राप्त भएको जानकारी गराएको छ,” उनले बताए। आयोग स्रोतका अनुसार रास्वपाले १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भन्ने विवरण वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक आवेदन विवरणका आधारमा तयार भएको जनाएको छ।

सो विवरण भूलवश प्रतिवेदनमा समावेश भएकाले उक्त उमेर समूहका व्यक्तिहरूलाई पार्टीको औपचारिक सदस्यका रूपमा नराखिएको स्पष्ट पारेको छ। रास्वपाले आफ्नो स्पष्टीकरणमा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने नीति वा अभ्यास पार्टीमा नरहेको उल्लेख गरेको छ।

मानव अधिकार आयोगले प्राप्त स्पष्टीकरणमाथि अध्ययन गरी आवश्यक निर्णय लिने जनाएको छ।