पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता
Prime TV News एक दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय तथा सम्बन्धित क्षेत्रका सरोकारवालासँग भएको छलफलमा प्रधानमन्त्री शाहले बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक काम अघि बढिरहेको बताएका हुन्।
छलफलमा सहभागी शेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीका अनुसार प्रधानमन्त्रीले नयाँ समिति गठन गरेर समय खर्चिनुभन्दा सम्बन्धित निकायले विद्यमान कानुनी व्यवस्थाअनुसार तत्काल काम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्रीले व्यवसायीका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायबीच समन्वय र आवश्यक छलफललाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको सहभागीहरूको भनाइ छ। छलफलका क्रममा सरोकारवालाले लगानीकर्ताको मनोबल अभिवृद्धि गर्ने, बजारमा आपूर्ति र मागबीच सन्तुलन कायम गर्ने, करसम्बन्धी अस्पष्टता हटाउने तथा घाटा समायोजनपछि मात्रै कर लगाउने व्यवस्था गर्न सुझाव दिएका थिए।
त्यस्तै, नेपाल राष्ट्र बैंकमार्फत ब्रोकर कम्पनीहरूलाई मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमावली तयार गर्न, नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने तथा दक्ष जनशक्ति आकर्षित गर्ने वातावरण सिर्जना गर्न पनि सुझाव दिइएको छ।
सहभागीहरूले धितोपत्र बोर्डलाई १० कित्ते नीतिको पुनरावलोकन गर्दै योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको व्यवस्था गर्न पनि आग्रह गरेका छन्। छलफलमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), स्टक ब्रोकर एसोसिएसन अफ नेपाललगायत विभिन्न निकायका पदाधिकारी तथा पुँजी बजारका सरोकारवालाको सहभागिता रहेको थियो।







