वर्षायाममा नियमित विद्युत् आपूर्तिका लागि सतर्क रहन प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठको निर्देशन

User Image Prime TV News ९ घण्टा अगाडि
Image of वर्षायाममा नियमित विद्युत् आपूर्तिका लागि सतर्क रहन प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठको निर्देशन

काठमाडौ। वर्षायाममा देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणले उच्चस्तरीय समीक्षा बैठक सम्पन्न गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुख र दुई प्रदेश डिभिजन कार्यालयका प्रमुख सहभागी थिए।

बैठकमा वर्षायामका कारण विद्युत् प्रणालीमा पर्न सक्ने प्रभाव, सेवा प्रवाहका चुनौती, ग्राहक गुनासो व्यवस्थापन तथा प्रदेशस्तरमा सञ्चालित आयोजना र कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो।

समीक्षापछि कार्यकारी निर्देशक श्रेष्ठले नियमित र गुणस्तरीय विद्युत् आपूर्तिमा कुनै असर पर्न नदिन उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिए। सम्भावित विद्युत् अवरोधलाई न्यून गर्न आवश्यक जनशक्ति, उपकरण र मर्मत सामग्री तयारी अवस्थामा राख्न तथा समस्या देखिनासाथ तत्काल परिचालन गर्न उनले आग्रह गरे।

श्रेष्ठले ग्राहकबाट प्राप्त गुनासोको छिटो र प्रभावकारी समाधान गर्न, योजनाबद्ध वा आकस्मिक विद्युत् अवरोधबारे सकेसम्म पूर्वसूचना उपलब्ध गराउन तथा सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न निर्देशन दिए।

बाढी, पहिरो, हुरीबतासलगायत प्राकृतिक विपद्का कारण विद्युत् पूर्वाधारमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण र सामग्री चौबीसै घण्टा तयारी अवस्थामा राख्नुपर्नेमा उनले जोड दिए।

त्यस्तै, प्रदेशभित्र सञ्चालनमा रहेका आयोजना तथा वितरण प्रणालीसम्बन्धी कामको नियमित अनुगमन गरी देखिएका समस्या तत्काल समाधान गर्न पनि निर्देशन दिइएको छ। बैठकमा कर्मचारीहरूको क्षमता अभिवृद्धि, सीप विकास र वृत्ति विकासका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तालिमको पहिचान गरी प्रस्ताव पेस गर्न समेत निर्देशन दिइएको थियो।

वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन र सम्मान गरिने तथा सेवाप्रवाहमा लापरबाही गर्ने कर्मचारीलाई प्रचलित नियमअनुसार कारबाही गरिने स्पष्ट पारे।

उनले परिणाममुखी कार्यसम्पादन, अनुशासित सेवा संस्कृति र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रदेश कार्यालयहरूलाई आग्रह गरे।