कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ७ हजार २०० जनाको माग

User Image Prime TV News ५ घण्टा अगाडि
Image of कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ७ हजार २०० जनाको माग

काठमाडौ । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार कोरियाले यसपटक ७ हजार २०० जनाका लागि आवेदन माग गरेको छ।

एचआरडी कोरियाबाट प्राप्त मागअनुसार उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाका लागि आवेदन खुलाइएको हो। ईपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षाका लागि आवेदन सन् २०२६ जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइनमार्फत दिन सकिनेछ।

आवेदन दिनका लागि आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गएर गैरकानुनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी समय नबसेको हुनुपर्नेछ।

पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिनेछ। परीक्षाका लागि आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा प्रकाशन भएको मितिले दुई वर्षसम्म वैधता रहने जनाइएको छ। तर, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा दक्षिण कोरियामा रोजगारी सुनिश्चित नहुने ईपीएस कोरिया शाखाले स्पष्ट पारेको छ।