नागरिकको असन्तुष्टि सम्बोधन गर्न सरकार तयार छ : प्रधानमन्त्री शाह
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकका असन्तुष्टि र सुझावलाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्।
उनले बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका लागि स्थगन गरिएको जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत नागरिक तहबाट आएको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
“नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ,” उनले भनेका छन्। सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार र परिमार्जन गर्न सरकार सधैं तयार रहने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा र स्वास्थ्य समता शुल्क तत्कालका लागि लागू नगर्ने निर्णय गरिएको स्पष्ट पारे। उनले समता कर कार्यान्वयन हुँदा आम नागरिकले थप खर्च र निराशा भोग्नुपर्ने अवस्थालाई सरकारले ध्यानमा राखेको बताए।
“यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो। हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो,” प्रधानमन्त्री शाहले भनेका छन्। उनका अनुसार ३ प्रतिशत समता कर ल्याउनुको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो।







