निर्वाचन क्षेत्र भ्रमणमा पार्टीसँग समन्वय गर्न रास्वपाको सांसदहरूलाई निर्देशन

User Image Prime TV News ७ घण्टा अगाडि
Image of निर्वाचन क्षेत्र भ्रमणमा पार्टीसँग समन्वय गर्न रास्वपाको सांसदहरूलाई निर्देशन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमणलाई राजनीतिक रूपमा प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउन पार्टीसँग अनिवार्य समन्वय र सहकार्य गर्न निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा सांसदहरूलाई नागरिकमाझ पुग्दा ‘रणनीतिक समन्वय’ कायम गर्न आग्रह गरिएको छ। रास्वपाले संघीय संसद् र स्थानीय तहका नागरिकबीचको संवादलाई पार्टीको सुशासन, जवाफदेहिता र नागरिक–केन्द्रित राजनीतिको आधारभूत पक्षका रूपमा व्याख्या गरेको छ।

“निर्वाचन क्षेत्र तथा जिल्लाका नागरिकमाझ गरिने भ्रमण केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा सीमित नरही पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सक्रिय बनाउने र जनअभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियान बन्नुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमणका क्रममा संस्थागत समन्वय र पूर्वसूचना, स्थानीय मुद्दाको प्राथमिकीकरण, सांगठनिक अपनत्व र जनपरिचालन, मितव्ययिता तथा सुशासन र नीतिगत पृष्ठपोषण प्रणालीलगायत विषयमा सचेत गराएको छ।

पार्टीले सांसदहरूको प्रभावकारी भूमिका र संगठनको चुस्तता एकअर्काका पूरक रहेको उल्लेख गर्दै सुव्यवस्थित र समन्वयात्मक प्रयासबाट मात्र दलको संस्थागत परिपक्वता बढ्ने जनाएको छ।जनताप्रतिको जवाफदेहितालाई थप मजबुत बनाउन सांसदहरूलाई जिम्मेवार ढंगले काम गर्न रास्वपाले पुनः दिशानिर्देश गरेको छ।