प्रदेशमा एमालेसँग गठबन्धनको वातावरण बनाउन प्रचण्डको निर्देशन

User Image Prime TV News ६ घण्टा अगाडि
Image of प्रदेशमा एमालेसँग गठबन्धनको वातावरण बनाउन प्रचण्डको निर्देशन

काठमाडौ । नेकपाका संयोजक पुष्पकमल दाहालले प्रदेश सरकार गठनका सन्दर्भमा एमालेसँग गठबन्धनको वातावरण बनाउन पार्टीका प्रदेश नेतृत्वलाई निर्देशन दिएका छन्।

श्रीलंकाको भ्रमणबाट फर्किएपछि दाहालले पार्टीभित्र र बाहिर राजनीतिक समीकरणबारे छलफललाई तीव्र बनाएका छन्। प्रदेशका प्रमुख नेताहरूलाई काठमाडौं बोलाएर छलफल गरेका उनले प्रदेश सरकारलाई मध्यावधि निर्वाचनतर्फ जान नदिन एमालेसँग सहकार्य आवश्यक भएको धारणा राखेको स्रोतले जनाएको छ।

नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालले शीर्ष नेतृत्वसँगको छलफलपछि प्रदेशमा एमालेसँग गठबन्धन गरेर अघि बढ्ने निष्कर्षमा पार्टी पुगेको बताए। बरालका अनुसार कांग्रेसलाई समेत समेटेर तीन दलीय गठबन्धन बनाउने प्रस्ताव गरिए पनि कांग्रेस सरकारमा सहभागी हुन इच्छुक नदेखिएपछि वैकल्पिक रूपमा एमालेसँग सहकार्य गर्ने विकल्पमा छलफल केन्द्रित भएको हो।

उनले गठबन्धन गर्ने विषय लगभग निश्चित भए पनि कुन प्रदेशमा कुन दलको नेतृत्व रहने भन्ने विषयमा भने अझै टुङ्गो लाग्न बाँकी रहेको बताए। स्रोतका अनुसार कम्युनिष्ट शक्तिबीच सहकार्यको आवश्यकता र अधिकांश नेता–कार्यकर्ताको दबाबका कारण नेकपा र एमाले गठबन्धनको सम्भावना बलियो बन्दै गएको छ।

यसअघि सुदूरपश्चिम र कोशीलगायत प्रदेशमा बजेटलगायत विषयमा एमाले र कांग्रेसबीच मतभेद बढेपछि वर्तमान गठबन्धनमा तनाव देखिएको थियो। त्यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सहकार्यको सम्भावनाबारे संवाद भइरहेको चर्चा सार्वजनिक भएपछि कांग्रेस नेतृत्व थप सतर्क बनेको बताइएको छ।