आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम गर्दै
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो। प्रजातन्त्र स्थापना, राष्ट्रियता र प्रजातान्त्रिक समाजवादका पक्षमा उनले पुर्याएको योगदानलाई स्मरण गर्दै राजनीतिक दल, विभिन्न संघसंस्था र शुभेच्छुकहरूले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेका छन्।
२०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनले भूमिसुधार, बिर्ता उन्मूलन तथा ‘जग्गा जोत्नेको’ नीति कार्यान्वयनमा अघि बढाएका थिए।
२०१७ साल पुस १ गते निर्वाचित सरकार अपदस्त भएपछि उनी लामो समय जेल जीवन र त्यसपछि भारतमा निर्वासनमा बसे। २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपीको मेलमिलापको अवधारणा आज पनि नेपाली राजनीतिमा सान्दर्भिक मानिन्छ।
राजनीतिसँगै बीपी नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रमुख स्रष्टा पनि हुन्। उनका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, ‘मोदीआइन’ लगायतका कृति नेपाली साहित्यका महत्वपूर्ण सिर्जनाका रूपमा स्थापित छन्।
यसैबीच, स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका विभिन्न समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन्। संस्थापन पक्षले ‘ग्रिन रन’सहितका कार्यक्रम राखेको छ भने संस्थापन इतर समूहले काठमाडौंको प्रज्ञा भवनमा श्रद्धाञ्जलि तथा विचार गोष्ठी आयोजना गरेको छ।
कांग्रेसभित्र देखिएको आन्तरिक मतभेदका बीच यस वर्षको स्मृति दिवस फरक–फरक कार्यक्रममार्फत मनाइँदै छ।







