देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना
Prime TV News ५८ मिनेट अगाडि 
काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानमै रहेको छ। यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
मधेस प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ। बागमती र गण्डकीका केही तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान र हिमाली भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश, कर्णालीका पहाडी क्षेत्र र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।







