कांग्रेसले गर्यो ‘मानव सहायता कल्याण कोष’ स्थापना
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ।
कोषको घोषणा गर्दै पार्टीका सभापति गगन थापाले कोषमार्फत घरबारविहीन एकल महिला तथा बालबालिकालाई सहयोग गरिने जानकारी दिए। उनका अनुसार हाल पार्टीका सदस्यहरूको योगदानबाट १० लाख रुपैयाँ संकलन भई कोषमा जम्मा गरिएको छ। आगामी दिनमा कोषको रकम थप विस्तार गर्दै लगिने पनि उनले बताए।
कोषसम्बन्धी विस्तृत जानकारीका साथै पार्टीका समसामयिक राजनीतिक विषय र आगामी अभियानबारे बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा जानकारी दिइनेछ। नेपाली कांग्रेसले सोही कार्यक्रममा बीपी स्मृति दिवस विशेष समारोह आयोजना गर्दै हाल सञ्चालनमा रहेको ‘जरा अभियान’को समापन गर्ने तथा नयाँ कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।







