राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न आजपाको माग
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । आम जनता पार्टी (आजपा)ले राइड सेयरिङ सेवा र बिजुली महसुलमा लगाइएको कर पनि खारेज गर्न सरकारसँग माग गरेको छ।
आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको निर्णयको स्वागत गर्दै राइड सेयरिङ तथा बिजुलीमा लगाइएको कर पनि हटाउनुपर्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साहले प्रधानमन्त्री बालेन्द्र शाहको उक्त घोषणाप्रति पार्टीका तर्फबाट धन्यवाद व्यक्त गरेका छन्। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले ती क्षेत्रमा कर लगाउनु आफैँमा अनुचित रहेको उनको भनाइ छ।
आम नागरिकको भावना र मागलाई सम्बोधन गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु सकारात्मक कदम भएको उनले उल्लेख गरेका छन्। साहले अब राइड सेयरिङ (सवारी साझेदारी) सेवा र बिजुली महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि खारेज गर्न सरकारसँग आग्रह गरेका छन्।
सरकारले हाल राइड सेयरिङ सेवा तथा बिजुली महसुलमा ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ।







