मनसुन विपद् व्यवस्थापनमा सरकारको तयारी फितलो भएको भन्दै विपक्षीको आपत्ति
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर र गैरजिम्मेवार रहेको भन्दै विपक्षी दलहरूले संघीय संसद्, राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।
नेपाली कांग्रेस, एमाले, नेकपा र जसपाले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै संयुक्त रूपमा उक्त प्रस्ताव दर्ता गरेका हुन्। ध्यानाकर्षण पत्रमा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ लाई उद्धृत गर्दै यस वर्ष देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने अनुमान गरिएको उल्लेख छ।
विपक्षी दलहरूले विगत एक दशकमा बाढी, पहिरो र चट्याङका कारण ३ हजारभन्दा बढी मानिसको मृत्यु तथा ५ सयभन्दा बढी बेपत्ता भएको तथ्य प्रस्तुत गर्दै विपद् आएपछि मात्र राहत र उद्धारमा सक्रिय हुने सरकारी प्रवृत्ति दोहोरिनु चिन्ताजनक भएको बताएका छन्।
उनीहरूले सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ का कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन बनेको भन्दै आपत्ति जनाएका छन्। विपद्को उच्च जोखिम रहेको अवस्थामा संवेदनशील निकायलाई नेतृत्वविहीन बनाउनु सरकारको असंवेदनशीलता भएको विपक्षीको भनाइ छ।
ध्यानाकर्षण पत्रमा संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी एकीकृत कमाण्ड प्रणालीको अभाव रहेको पनि उल्लेख गरिएको छ। विपी राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिङ सडक खण्ड र कर्णाली राजमार्गजस्ता जोखिमपूर्ण सडक क्षेत्रमा विपद् पूर्वतयारी र प्रतिकार्य योजनाबारे पनि विपक्षी दलहरूले प्रश्न उठाएका छन्।







