विस्थापित सुकुम्वासीलाई स्थायी जिल्लामै पठाइने

User Image Prime TV News एक घण्टा अगाडि
Image of विस्थापित सुकुम्वासीलाई स्थायी जिल्लामै पठाइने

काठमाडौ । सरकारले काठमाडौंका नदी किनारबाट विस्थापित सुकुम्वासीलाई उनीहरूको स्थायी ठेगाना भएका जिल्लामार्फत व्यवस्थापन गर्ने भएको छ।

सरकारले आ–आफ्नो स्थायी ठेगाना भएका पालिकामा सम्पर्क गर्न सम्बन्धित सुकुम्वासी परिवारलाई सूचना जारी गरेको छ। गत वैशाख ११ गतेदेखि काठमाडौंका नदी किनारमा डोजर अभियान सञ्चालन गरी विस्थापित गरिएका सुकुम्वासीमध्ये पहिलो चरणमा केही परिवारलाई सरकारी होल्डिङ सेन्टरमा राखिएको थियो।

त्यहाँ रहेका ३८८ परिवारका एक हजार ४८८ जनाको सम्पत्ति विवरण छानबिन गरिएको थियो। छानबिनका क्रममा नेपालभर कुनै पनि घरजग्गा नभेटिएका २९ परिवारको सूची सार्वजनिक गर्दै ‘भूमि समस्या समाधान समिति’ले उनीहरूलाई स्थायी ठेगाना भएका जिल्लाका सम्बन्धित पालिकामा सम्पर्क गर्न आग्रह गरेको हो।

समितिले सार्वजनिक गरेको सूचनामा सम्बन्धित परिवार बसेको हालको होल्डिङ सेन्टर र उनीहरूको स्थायी ठेगानासमेत उल्लेख गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको निर्णयअनुसार यस्तो सूचना जारी गरिएको हो।

सूचनामा लाभग्राही परिवारको नेपालभर घरजग्गा रहे–नरहेको विषयमा भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट विवरण माग गरिएको र २९ परिवारको नाममा कुनै घरजग्गा नभेटिएको जानकारी प्राप्त भएको उल्लेख छ।

समितिले स्वीकृत कार्यविधिअनुसार ती परिवारलाई स्थायी ठेगाना भएका जिल्लाबाट जग्गा उपलब्ध गराउने प्रयोजनका लागि आवश्यक कागजातसहितको फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकेको जनाएको छ। सम्बन्धित जिल्ला समिति र पालिकामा तत्काल सम्पर्क गरी पुनःस्थापनाको प्रक्रियामा सहभागी हुन समितिले आग्रह गरेको छ।