दिल्लीको विद्यार्थी आन्दोलनको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’को आह्वानमा भएको प्रदर्शनमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू पनि सहभागी भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। प्रदर्शनकारीहरूको मार्च पटनास्थित गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएर राजभवनतर्फ अघि बढेको थियो।
तर गान्धी मैदान नजिकैको जेपी गोलम्बरमा प्रहरीले उनीहरूलाई रोकेको थियो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले वाटर क्यानन (पानीको फोहोरा) र अश्रुग्यास प्रयोग गरेको जनाइएको छ। बीबीसीका अनुसार प्रहरीले दुईवटा अश्रुग्यासका गोला प्रहार गरेको थियो।
प्रहरीको कारबाहीपछि पनि प्रदर्शनकारीहरू जेपी गोलम्बरबाट अघि बढ्दै डाक बंगला चौराहासम्म पुगेका थिए। प्रदर्शनका क्रममा प्रदर्शनकारीतर्फबाट प्रहरीमाथि ढुंगामुढा भएको आरोप पनि लगाइएको छ। प्रदर्शनकारीहरूले ‘गोदी मिडिया गो ब्याक’ लगायतका नारा लगाएका थिए।
घटनाका क्रममा केही सञ्चारकर्मी घाइते भएको खबर आएको छ। पछि केही व्यक्तिको पहलमा उनीहरूलाई भीडबाट सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ।







