गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशन परिचालित थियो : मोहन बस्नेत
Prime TV News ५६ मिनेट अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशन परिचालित रूपमा गरिएको दाबी गरेका छन्।
कांग्रेसको इतर पक्षले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टी कमजोर भए मुलुक नै दुर्घटनामा जान सक्ने बताए। उनले कांग्रेसभित्र प्रदेश भेला सम्पन्न भइसकेको भन्दै अब केन्द्रीय भेला गर्नुपर्ने आवश्यकता औंल्याए। पार्टी फुटाउने नभई नयाँ राजनीतिक बाटो तय गर्नुपर्ने धारणा राख्दै उनले लोकतान्त्रिक शक्तिलाई कमजोर हुन नदिने बताए।
“पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो। गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन,” उनले भने। बस्नेतले गगन थापाको नेतृत्वमा कांग्रेस निर्वाचनमा जाँदा पार्टीले ठूलो क्षति व्यहोरेको दाबी गरे। उनले थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचन लडेको भए जमानतसमेत जोगाउन नसक्ने दाबी गरे।
गगन थापा नेतृत्वको कांग्रेस भदौ २ गतेदेखि महाधिवेशन प्रक्रियामा जाने तयारीमा रहेको उल्लेख गर्दै बस्नेतले ढिला नगरी बीपी कोइरालाले निर्माण गरेको कांग्रेस बनाउने दिशामा अघि बढ्नुपर्ने बताए। उनले पार्टीभित्र सहमतिको सम्भावना नरहेको दाबी गर्दै नेतृत्वलाई नयाँ राजनीतिक बाटो तय गर्न खुट्टा नकमाउन आग्रह गरे।






