गणेश नेपाली मृत्यु प्रकरणमा सरकारले न्यायिक छानबिन समिति गठन
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया रहेका छन्। मन्त्रिपरिषद्ले समितिलाई गठन भएको मितिबाट सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन सरकारसमक्ष पेस गर्न निर्देशन दिएको छ।
गणेश नेपालीको गत असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो। उनको मृत्युपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।
सहमतिको पहिलो बुँदाअनुसार घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।







