आज पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
स्मृति दिवसका अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीले विशेष कार्यक्रम आयोजना गरेको छ। यसैगरी, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दल तथा संगठनहरूले पनि पुष्पलालको योगदानको स्मरण गर्दै विविध कार्यक्रम गर्ने जनाएका छन्।
वि.सं. १९८१ साल असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक नेता मानिन्छन्। उनी शहीद गंगालाल श्रेष्ठका भाइ पनि हुन्।
पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनले विभिन्न लेख तथा कृतिमार्फत नेपाली समाजको वर्गीय विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनको वैचारिक आधार निर्माणमा महत्वपूर्ण योगदान दिएका थिए।
वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका पुष्पलालले त्यसअघि १९९८ सालमा नेपाली प्रजातान्त्रिक सङ्घ गठनमा पनि भूमिका निर्वाह गरेका थिए।
प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था अन्त्य गर्नुपर्ने उनको राजनीतिक दृष्टिकोण नेपाली राजनीतिमा महत्वपूर्ण मानिन्छ। वि.सं. २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो।







