कम्युनिस्ट र लोकतान्त्रिक शक्तिको सहकार्य नै परिवर्तनको आधारः ओली
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै नेपालको राजनीतिक परिवर्तनको मुख्य आधार बनेको बताएका छन्।
नेपालका वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा बिहीबार जारी गरेको भिडियो सन्देशमा अध्यक्ष ओलीले दुवै नेताले नेपालको सामाजिक तथा राजनीतिक रूपान्तरणमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरेका हुन्।
ओलीले पुष्पलाल श्रेष्ठलाई केवल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवका रूपमा मात्र नभई इतिहासका नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा चित्रण गरे। उनले पुष्पलालले राजनीतिक आन्दोलनलाई जनताको दैनिक जीवन, विशेषगरी मजदुर र किसानका समस्यासँग जोड्ने महत्वपूर्ण काम गरेको बताए।
शहीद गंगालाल श्रेष्ठका भाइ पुष्पलालले दाजुबाट प्राप्त प्रेरणालाई जीवनभर परिवर्तनको सङ्घर्षमा रूपान्तरण गरेको स्मरण गर्दै ओलीले उनको योगदान नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक रहेको उल्लेख गरे।
त्यसैगरी, उनले बीपी कोइरालालाई बहुआयामिक व्यक्तित्व तथा नेपाली राजनीतिको शिखर नेताका रूपमा स्मरण गर्दै पुष्पलाल र बीपी दुवैले आ–आफ्नो विचार र आन्दोलनमार्फत मुलुकको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनीहरूका आदर्श र योगदानबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा पनि उनले जोड दिए।







