डा. गोविन्द केसीको २४औँ सत्याग्रह आजदेखि धनगढीमा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्।
डा. केसीले दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनसन सुरु गर्ने कार्यक्रम तय गरेका छन्। सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको र पटक–पटक उठाइएका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै उनले पुनः सत्याग्रहको बाटो रोजेका हुन्।
सरकारले माग सम्बोधनका लागि साउन ५ गतेसम्म समय मागे पनि त्यस अवधिमा कुनै ठोस पहल नगरेपछि आन्दोलनको विकल्प नरहेको निष्कर्षमा पुगेको डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए। डा. केसी गत शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर आन्दोलनको तयारीमा जुटेका थिए।
बुधबार जारी विज्ञप्तिमा डा. केसीले आफ्ना मागप्रति सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनी दिएका छन्। उनले नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र सुशासनका लागि आफूले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरेका छन्।
यसपटकको सत्याग्रहमा उनले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया र नीतिगत निर्णयलाई प्रमुख मुद्दा बनाएका छन्। दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा कानुन तथा मापदण्डविपरीत गरिएको भनिएका नियुक्ति खारेज गर्नुपर्ने, सम्बन्धित कानुनी व्यवस्था संशोधन गर्नुपर्ने तथा नियुक्तिमा राजनीतिक प्रभाव र स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको मुख्य माग छ।







