त्रिविको हडपिएको सम्पत्ति फिर्ता ल्याउन सरकार प्रतिबद्ध छ : शिक्षामन्त्री पोखरेल
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को हडपिएको सम्पत्ति फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
त्रिविको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयको जग्गा तथा अन्य सम्पत्ति संरक्षण र फिर्ताका लागि सरकारले आवश्यक पहल गर्ने बताएका हुन्। त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनअनुसार त्रिविको करिब २ हजार ५ सय रोपनी जग्गा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा प्रयोग गरेको पाइएको छ।
२६ असोज २०८२ मा सार्वजनिक गरिएको ‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति, २०८१’ को प्रतिवेदनले त्रिविको ठूलो परिमाणको जग्गा अपचलन भएको देखाएको थियो। प्रतिवेदनअनुसार त्रिवि स्थापना र सञ्चालनका लागि सरकारले विभिन्न समयमा अधिग्रहण गरेको ५ हजार ५० रोपनीभन्दा बढी जग्गामध्ये करिब आधा क्षेत्रफल अनधिकृत प्रयोगमा रहेको उल्लेख छ।
त्रिविको पूर्ण स्वामित्वमा रहेको जग्गा शैक्षिक तथा अन्य विभिन्न संस्थाबाट लामो समयदेखि प्रयोग हुँदै आएको र त्यसमा पदाधिकारी तथा कर्मचारीको मिलेमतोसमेत रहेको प्रतिवेदनमा औँल्याइएको छ। त्रिविको जग्गा प्रयोग गर्नेमा निजी संस्था, धार्मिक संस्था, विद्यालय, बैंक, विभिन्न संघसंस्था तथा अन्य व्यावसायिक गतिविधि सञ्चालन गर्ने निकायहरू रहेको उल्लेख गरिएको छ।
त्रिविले गत ४ वैशाखमा सूचना जारी गर्दै हडपिएको जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेको छ। तर हालसम्म सबै संस्था तथा व्यक्तिले जग्गा फिर्ता नगरेको विश्वविद्यालयले जनाएको छ। कतिपयले जग्गा फिर्ता गरे पनि धेरैले विभिन्न कारण देखाउँदै थप समय मागेका छन् भने केहीले निःशुल्क प्रयोगको व्यवस्था गर्न माग गरेका छन्। सरकारले भने त्रिविको सम्पत्ति संरक्षण र फिर्ता प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।





