कम्युनिस्ट एकता असफल भयो भन्दैमा फेरि प्रयास रोक्न हुँदैन : नारायणकाजी श्रेष्ठ

User Image Prime TV News एक घण्टा अगाडि
Image of कम्युनिस्ट एकता असफल भयो भन्दैमा फेरि प्रयास रोक्न हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौ । नेकपाका नेता नारायणकाजी श्रेष्ठले विगतमा कम्युनिस्ट एकता सफल नभएको अनुभवका आधारमा भविष्यमा एकताको प्रयास नै नगर्ने निष्कर्षमा पुग्न नहुने बताएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीले आयोजना गरेको ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व’ विषयक कार्यक्रममा बोल्दै श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र रूपान्तरण गर्दै अन्ततः एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले वाम एकताको विषय उठ्दा प्रतिक्रियावादी शक्तिबाट दबाब र विभिन्न योजना बन्ने भए पनि त्यसकै कारण एकताको एजेन्डा त्याग्न नहुने बताए। विगतको असफलताबाट शिक्षा लिनुपर्ने भए पनि त्यसैका आधारमा भविष्यका सबै प्रयास असफल हुने निष्कर्ष गलत हुने उनको भनाइ थियो।

श्रेष्ठले एकपटक एकता सफल नभएको भन्दै सधैँ असफल हुने सोच त्याग्न आग्रह गर्दै वस्तुगत आधार तयार पारेर एकताको दिशामा अघि बढ्नुपर्ने बताए। उनले केही नेतामा पार्टी एकता भएपछि आफ्नो भूमिका र हैसियत गुम्ने चिन्ता रहेको संकेत गर्दै व्यक्तिगत स्वार्थभन्दा देश, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

श्रेष्ठले तत्काल कम्युनिस्ट पार्टी एकताको अवस्था तयार नभएको स्वीकार गर्दै त्यसलाई दीर्घकालीन लक्ष्यका रूपमा राखेर वाम दलहरूबीच सहकार्य विस्तार गर्नुपर्ने बताए। उनका अनुसार सबै वामपन्थी दलले पहिले आफ्नो रूपान्तरण र पुनर्गठनको प्रक्रिया पूरा गर्दै अन्ततः एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने लक्ष्यमा अघि बढ्नुपर्छ।

उनले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका वामपन्थी तथा देशभक्त शक्तिबीचको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा पनि जोड दिए। बदलिएको समयअनुसार विचार, कार्यशैली र संगठनात्मक संरचनालाई परिमार्जन गर्दै भविष्यको एकीकृत कम्युनिस्ट केन्द्रले मार्क्सवाद, समाजवाद र वामपन्थी राजनीतिक दिशालाई थप विकसित गर्ने विश्वास उनले व्यक्त गरे।