गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने गगनको घोषणा
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्।
४४औँ बीपी स्मृति तथा ‘जरा अभियान’ समापन एवं नयाँ अभियान घोषणाका लागि राष्ट्रिय सभागृहमा बिहीबार आयोजित कार्यक्रममा सभापति थापाले केन्द्रीय समितिबाट अनुमोदन हुने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
थापाले साउन १२ र १३ गते बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय अनुमोदन गरिने जानकारी दिँदै श्रेष्ठको लामो राजनीतिक योगदानको सम्मानस्वरूप उनलाई वरिष्ठ नेता बनाउने निर्णय गरिएको बताए। उनले श्रेष्ठले कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न जिम्मेवारीमा रहेर नेपाली कांग्रेसलाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पार्टीले उनको योगदानको सम्मान गर्न लागेको उल्लेख गरे।
क्यान्सरबाट पीडित श्रेष्ठ विगत १० दिनदेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्। उनी गत पुसमा भएको विशेष महाधिवेशनमा समेत सहभागी भएका थिए। नेपाली कांग्रेसको विधानमा वरिष्ठ नेता पदको व्यवस्था छैन। यद्यपि, नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण भएपछि शेरबहादुर देउवालाई वरिष्ठ नेता बनाइएको थियो।
त्यसपछि सभापति निर्वाचनमा पराजित भएका नेतालाई वरिष्ठ नेता बनाउने अभ्यास पार्टीमा रहँदै आएको छ।






