२६ दिनपछि सोनम वाङ्चुकले तोडे आमरण अनसन, भारत सरकारले नयाँ कानुन ल्याउने घोषणा

User Image Prime TV News २ घण्टा अगाडि
Image of २६ दिनपछि सोनम वाङ्चुकले तोडे आमरण अनसन, भारत सरकारले नयाँ कानुन ल्याउने घोषणा

काठमाडौ । भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणको विरोधमा २६ दिनदेखि आमरण अनसनमा रहेका जलवायु तथा सामाजिक अभियन्ता सोनम वाङ्चुकले शुक्रबार मध्यराति आफ्नो अनसन अन्त्य गरेका छन्।

गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा लद्दाखको ‘एपिक्स बडी’का प्रतिनिधिको उपस्थितिमा उनले अनसन तोडेका हुन्।

वाङ्चुकले सामाजिक सञ्जाल ‘एक्स’मार्फत देशमा हिंसा भड्किने जोखिम र सरकारसँगको लामो वार्तापछि विभिन्न राजनीतिक दलका ६५ सांसदको आग्रहमा आफूले अनसन अन्त्य गरेको बताएका छन्।

उनले आफ्ना समर्थकलाई शान्तिपूर्ण रूपमा आन्दोलन जारी राख्न र कुनै पनि प्रकारको हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।

अनसन अन्त्य भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाङ्चुकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्।

यसैबीच, प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा सजाय र फास्ट ट्र्याक अदालतको व्यवस्था समेटिएको नयाँ विधेयक आगामी साता संसद्मा प्रस्तुत गरिने घोषणा गरेका छन्।

उनका अनुसार मन्त्रिपरिषद्ले यसबारे छलफल गरेपछि संसद्को बर्खे अधिवेशनमा विधेयक दर्ता गरी यथाशीघ्र पारित गर्ने तयारी गरिएको छ।

मोदीले प्रश्नपत्र चुहावटलाई लाखौँ विद्यार्थी र अभिभावकको भविष्यसँग जोडिएको गम्भीर विषय भन्दै दोषीमाथि कारबाही जारी रहेको र प्रभावित २२ लाख विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गरिएको उल्लेख गरेका छन्।

उनले नयाँ कानुनले परीक्षा प्रणालीलाई थप सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।