होर्मुज जलमार्गमा तनाव चर्किँदै, अमेरिका–इरान सैन्य द्वन्द्वको असर विश्व बजारमा

User Image Prime TV News एक घण्टा अगाडि
Image of होर्मुज जलमार्गमा तनाव चर्किँदै, अमेरिका–इरान सैन्य द्वन्द्वको असर विश्व बजारमा

काठमाडौ । होर्मुज जलमार्गलाई केन्द्रमा राखेर अमेरिका र इरानबीचको सैन्य तनाव थप गहिरिएको छ।

अमेरिकी सेनाले इरानमाथि लगातार १३औँ रात हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार पछिल्ला हवाई कारबाहीको उद्देश्य इरानको त्यस्तो सैन्य क्षमता कमजोर बनाउनु  र क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाज र नाविकहरूको सुरक्षामा खतरा उत्पन्न भएको अमेरिकाको दाबी छ।

अमेरिकाले अन्तर्राष्ट्रिय समुद्री यातायात सुरक्षित राख्न आवश्यक कारबाही जारी रहने जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणपछि होर्मुज जलमार्ग नजिकको बन्दर अब्बास, केश्म द्वीप तथा उत्तरपश्चिमी क्षेत्र एन्दिमेश्क र ओमिदियेह आसपास विस्फोट भएका छन्।

यद्यपि, ती घटनाबाट भएको क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। यसैबीच, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा दुईवटा तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेका छन्। साथै, उनीहरूले अन्य महत्वपूर्ण समुद्री व्यापारिक मार्गहरू पनि प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।

तनाव बढेसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि यसको प्रभाव देखिएको छ। ब्रेन्ट क्रुड तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाजमाथिका आक्रमण जारी रहे त्यसको जिम्मेवार इरानलाई ठहर गरिने चेतावनी दिएका छन्। उनले हुथी विद्रोहीहरूलाई इरानको समर्थन प्राप्त रहेको दाबी गर्दै भविष्यमा हुने आक्रमणको कडा सैन्य जवाफ दिइने बताएका छन्।