डा. गोविन्द केसीका जायज माग तत्काल सम्बोधन गर्न तोसिमा कार्कीको आग्रह
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्।
उनले केसीलाई आफ्ना सुझाव प्रत्यक्ष रूपमा प्रधानमन्त्री र शिक्षामन्त्रीसमक्ष राख्न पनि अनुरोध गरेकी छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सांसद कार्कीले डा. केसी पुनः अनसन बस्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताइन्।
विगतका सरकारमा पटक–पटक आन्दोलन गर्नुपरे पनि अहिलेको सरकारले जनताको आवाज र विज्ञहरूको सुझाव सुन्ने विश्वास व्यक्त गरिन्। "विगतका सरकारमा तपाईंले पटक–पटक शोषक र शासक देख्नुभयो होला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो। जनताको सुन्छ, तपाईं जस्तो निस्वार्थ विज्ञको पनि सुन्छ," कार्कीले लेखेकी छन्।
उनले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गर्दै चिकित्सा शिक्षालाई स्वच्छ, प्रभावकारी र जनतामुखी बनाउन उनका जायज माग पूरा गर्न सरकार सहकार्यका लागि तयार रहेको उल्लेख गरेकी छन्। यसअघि डा. गोविन्द केसी बिहीबारदेखि धनगढीमा अनसनरत छन्। उनले चिकित्सा शिक्षा सुधार तथा यसअघि भएका सहमतिहरू कार्यान्वयनलगायतका माग राख्दै आन्दोलन सुरु गरेका हुन्।







