सीजेपी सरकारसँग वार्तामा बस्न तयार, आन्दोलनका माग भने यथावत्
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । भारतमा झन्डै एक महिनादेखि आन्दोलनरत ककरोच जनता पार्टी (सीजेपी) सरकारले प्रस्ताव गरेको वार्तामा सहभागी हुन तयार भएको छ।
यद्यपि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित आफ्ना सबै माग यथावत् रहेको पार्टीले जनाएको छ। सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले सरकारले तटस्थ स्थानमा वार्ता गर्ने प्रस्ताव स्वीकार गरेपछि आफूहरू संवादका लागि तयार भएको बताए।
उनका अनुसार वार्ता भारतीय संविधान क्लबमा हुनेछ। ‘सरकारले तटस्थ स्थानमा वार्ता गर्ने हाम्रो माग स्वीकार गरेको छ। हामी खुसी छौँ। सरकारले खुला मनले हामीसँग सम्पर्क गरेको र सडकमा आएका मानिसहरूको आवाज सुन्न इच्छुक देखिएकामा सकारात्मक छौँ,’ दासले भने।
उनले सरकारका प्रतिनिधि जन्तर–मन्तरमै आउन सक्ने भए पनि दुवै पक्षलाई सहज हुने वातावरणका लागि आफूहरूले तटस्थ स्थानको विकल्प प्रस्ताव गरेको स्पष्ट पारे। सीजेपीले एनईईटी–यूजी परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनापछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र शिक्षा प्रणालीमा सुधारको माग राख्दै एक महिनाभन्दा बढी समयदेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आन्दोलन गरिरहेको छ।
यस आन्दोलनलाई समर्थन जनाउँदै अभियन्ता सोनम वाङचुक आमरण अनशनमा बसेका थिए। उनले २६ दिनपछि बिहीबार केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाख सर्वोच्च निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन अन्त्य गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत वाङचुकले विभिन्न राजनीतिक दलका ६५ सांसदले अनशन तोड्न आग्रह गरेको र लामो छलफलपछि देशमा हिंसाको सम्भावनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन्। उनले आन्दोलनका समर्थकलाई शान्तिपूर्ण रूपमा अघि बढ्न आग्रह गर्दै देशका कुनै पनि क्षेत्रमा हिंसा हुन नदिन सबैलाई संयमता अपनाउन अनुरोध गरेका छन्।







