युद्वारा २१औँ प्रतिबन्ध प्याकेज स्वीकृत, थप ४८ व्यक्ति र १६८ संस्था कालोसूचीमा

User Image Prime TV News २ घण्टा अगाडि
Image of युद्वारा २१औँ प्रतिबन्ध प्याकेज स्वीकृत, थप ४८ व्यक्ति र १६८ संस्था कालोसूचीमा

काठमाडौ । युरोपियन युनियन (इयु) ले आफ्नो २१औँ प्रतिबन्ध प्याकेज स्वीकृत गर्दै थप ४८ व्यक्ति र १६८ संस्थालाई कालोसूची (ब्ल्याकलिस्ट) मा समावेश गरेको छ।

इयु काउन्सिलले ‘अफिसियल जर्नल अफ द युरोपियन युनियन’ मार्फत नयाँ प्रतिबन्ध लागू भएको जानकारी दिएको हो। नयाँ निर्णयसँगै इयुको प्रतिबन्ध सूचीमा परेका व्यक्ति र संस्थाको कुल संख्या ३ हजार १०० पुगेको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो संख्या भएको जनाइएको छ।

प्रतिबन्ध सूचीमा ड्रोन उत्पादक एन्ड्रे डोरोनिन, ओल्गा कोरचागिना र डेनिस मेर्जलिकिन, वरिष्ठ वित्तीय अधिकारी सर्गेई बेलोभ र रुसलान अरेफिएभ, स्वेतफोर चेनका मालिकहरू तथा व्यवसायी मिखाइल गुत्सेरिएभ समावेश छन्।

त्यसैगरी गाजप्रोम–मिडियाका प्रमुख अलेक्ज्याण्डर जारोभ, एएनओ डाइलगका प्रमुख भ्लादिमिर ताबाक, खेलकुद मन्त्री मिखाइल देग्त्यारेभ, अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) का अध्यक्ष अर्काडी डोभोरकोभिच तथा संगीतकार अलेक्ज्याण्डर मार्सललाई पनि नयाँ प्रतिबन्ध सूचीमा राखिएको छ।

इयुले जनाएको अनुसार ‘अफिसियल जर्नल’ मा प्रकाशित भएसँगै यी प्रतिबन्धहरू तत्काल लागू भएका छन्। नयाँ व्यवस्थाअनुसार सूचीमा परेका व्यक्ति तथा संस्थाको इयु क्षेत्रभित्र रहेको सम्पत्ति रोक्का गरिनेछ र उनीहरूलाई कुनै पनि प्रकारको वित्तीय स्रोत उपलब्ध गराउन निषेध गरिएको छ।

साथै प्रतिबन्ध सूचीमा परेका व्यक्तिहरूमाथि इयु सदस्य राष्ट्रहरूमा प्रवेश तथा यात्रा गर्नसमेत रोक लगाइएको छ।