ट्राफिक नियम उल्लंघन गरेको स्वीकार्दै रास्वपा सांसद बब्लु गुप्ताद्वारा माफी माग
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री बब्लु गुप्ताले ट्राफिक नियम उल्लंघन गरेको घटनाप्रति सार्वजनिक रूपमा माफी मागेका छन्।
मोटरसाइकलको पछाडि उभिएर जोखिमपूर्ण रूपमा यात्रा गर्दै भिडियो खिचेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आफ्नो गल्ती स्वीकार गरेका हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुप्ताले बाल्यकाल बिताएको स्थानमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको र त्यही उत्साहका क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लंघन भएको महसुस गरेको बताएका छन्।
‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु,’ उनले लेखेका छन्।
उनले आफूबाट जानी वा नजानी गल्ती भएको स्वीकार गर्दै सबैसँग क्षमा याचना गरेका छन्। साथै भविष्यमा आफूले त्यही जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। गुप्ताको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सर्वसाधारणले सार्वजनिक पदमा रहेका व्यक्तिले ट्राफिक नियमको पालना गर्नुपर्ने भन्दै आलोचना गरेका थिए।







