बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा, तीन पक्राउ

User Image Prime TV News ३ घण्टा अगाडि
Image of बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा, तीन पक्राउ

काठमाडौ । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको भनिएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा ठगी कसुरमा मुद्दा दर्ता गरिएको हो। मुद्दा दायर गरिएकामध्ये नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन्।

आठ प्रतिवादीमध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन् भने बाँकी पाँच जनाविरुद्ध फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार उनीहरूमाथि ठगी कसुरमा अभियोजन गरिएको हो।

यस प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ सालमै प्रतिवेदन सरकारलाई बुझाएको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गत चैतमा गरेपछि सीआईबीले अनुसन्धानलाई अघि बढाएको थियो।

अनुसन्धान पूरा भएपछि प्राप्त प्रमाणका आधारमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।