पुर्खाको त्याग र बलिदानबाट नेपालीले गौरवका साथ उभिन पाएका छन् : राष्ट्रपति पौडेल

User Image Prime TV News ३ घण्टा अगाडि
Image of पुर्खाको त्याग र बलिदानबाट नेपालीले गौरवका साथ उभिन पाएका छन् : राष्ट्रपति पौडेल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपालीले विश्वसामु शिर उँचो बनाएर गौरवका साथ उभिन सकेको बताएका छन्।

शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासका असल पक्षलाई आत्मसात् गर्न सके मात्र वर्तमानप्रति न्याय गर्न सकिने बताए।

‘हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ। यसले नै भविष्य निर्माणको सुनौलो बाटो तय गर्छ भन्ने मेरो विश्वास छ,’ उनले भने। राष्ट्रपति पौडेलले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका लागि वीर पुर्खाले दिएको योगदान र बलिदान सदैव स्मरणीय रहेको उल्लेख गरे।

उनले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको आधारमा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए। उनले राष्ट्रप्रेमप्रतिको प्रतिबद्धता कमजोर हुन नदिन आग्रह गर्दै एकताको बलमा मुलुकलाई समृद्ध बनाउने अभियानमा सबै जुट्नुपर्ने बताए।

‘हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनमार्फत देश विकासको कामलाई तीव्र बनाउनुपर्छ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ,’ राष्ट्रपति पौडेलले भने।

उनले भीमसेन थापा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्दै राष्ट्रहित, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षामा उनको भूमिका महत्वपूर्ण रहेको बताए। अंग्रेजसँगको युद्धमा ठूलो क्षति व्यहोर्नुपरे पनि उनको राष्ट्रभक्तिपूर्ण अडानका कारण नेपाल स्वतन्त्र रहन सकेको राष्ट्रपति पौडेलको भनाइ थियो।

राष्ट्रपति पौडेलले थापालाई इमानदार र कुशल प्रशासकका रूपमा चित्रण गर्दै उनको शासनकालमा सामाजिक, आर्थिक, कानुनी तथा सैनिक क्षेत्रमा भएका सुधार प्रशंसनीय रहेको बताए।कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो।