विद्युतीय कारोबार मुद्दामा आरती रावल पुर्पक्षका लागि थुनामा

User Image Prime TV News एक घण्टा अगाडि
Image of विद्युतीय कारोबार मुद्दामा आरती रावल पुर्पक्षका लागि थुनामा

काठमाडौ । विद्युतीय कारोबार सम्बन्धी मुद्दामा आरती रावललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार उनलाई महिला बन्दीगृह, जगन्नाथ देवल चलान गरिएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले बुधबार रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

रावलले यसअघि न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन्। उनी ‘न्यायका लागि’ भन्दै विभिन्न प्रदर्शनमा समेत सहभागी हुँदै आएकी थिइन्। उक्त मुद्दामा न्यायाधीश गिरी केही समय जेल चलान भएका थिए। पछि मुद्दामा सफाइ पाएपछि उनी रिहा भई नियमित काममा फर्किएका छन्।

अदालतको आदेश अस्वीकार गर्दै रावल पुनः गिरीविरुद्धका गतिविधिमा सक्रिय रहेको र सो क्रममा विभिन्न विद्युतीय माध्यमबाट गिरीको मानहानी गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सर्वोच्च अदालतको पत्रको जाहेरीका आधारमा नेपाल सरकार वादी भई रावलविरुद्ध विद्युतीय कारोबारसम्बन्धी मुद्दा चलाइएको थियो।