प्रधानन्यायाधीश शर्माको भारत भ्रमण, समकक्षी सूर्यकान्त विवादमा घेरिएका बेला यात्रा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारतका प्रधानन्यायाधीश सूर्यकान्तको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा गएका छन्।
बिहीबार भारत प्रस्थान गरेको प्रधानन्यायाधीश शर्मासहितको टोली सोमबार नेपाल फर्कने कार्यक्रम छ। सर्वोच्च अदालतका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको समेत अवलोकन गर्ने कार्यक्रम तय भएको छ।
तर, प्रधानन्यायाधीश शर्माको भारत भ्रमणको समय भने राजनीतिक र न्यायिक बहसका दृष्टिले संवेदनशील देखिएको छ। उनलाई निमन्त्रणा गर्ने भारतीय प्रधानन्यायाधीश सूर्यकान्तको एक अभिव्यक्तिको विरोधमा स्थापना भएको ‘कक्रोच जनता पार्टी’को आह्वानमा भइरहेका प्रदर्शनले भारतमा समेत चर्चा पाएको छ।
करिब साढे दुई महिनाअघि एक सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले सरकारको आलोचना गर्ने बेरोजगार युवाहरूबारे टिप्पणी गर्दै ‘कक्रोच (साङ्ला)’ र ‘परजीवी’ जस्ता शब्द प्रयोग गरेका थिए। उक्त अभिव्यक्तिको चर्को आलोचना भएपछि उनले सार्वजनिक रूपमा क्षमा माग्दै आफ्नो टिप्पणी भारतीय आम युवालाई नभई झुटा शैक्षिक उपाधिका आधारमा कानुन व्यवसायमा प्रवेश गर्ने व्यक्तिहरूप्रति लक्षित रहेको बताएका थिए।
तर, उक्त अभिव्यक्तिको विरोधमा ३० वर्षीय अभिजित दीपकको नेतृत्वमा ‘कक्रोच जनता पार्टी’ स्थापना भएको र सो समूहले दिल्लीका केही स्थानमा प्रदर्शन गर्दै आएको बताइएको छ।







