प्रचण्डको स्वीकारोक्ति : ‘हामीले कहीँ न कहीँ ठुलै त्रुटि गरेका छौँ’
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अहिले देखिएको राजनीतिक जटिल परिस्थिति सिर्जना हुनुमा आफूहरूको पनि कहीँ न कहीँ त्रुटि रहेको स्वीकार गरेका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप बढेको दाबी गर्दै प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरूले टाउको उठाएको बताए। भदौ २३ र २४ गतेका घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको उल्लेख गर्दै उनले उक्त अवस्थाबारे बुझाइ भने फरक–फरक रहेको बताए।
‘अब सङ्कटको समाधान कसरी गर्ने भनेर छलफल गर्नु उचित हुन्छ,’ प्रचण्डले भने, ‘भदौको घटनामा नेपालको सुरक्षा निकायको निरीहता आफ्नै आँखाअगाडि देख्नुपर्यो। यो सुगौली सन्धिपछिको धेरै ठूलो निरीहता हो।’
उनले वर्तमान अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा समुचित, यथोचित र वैज्ञानिक समीक्षा नगरी चुनौतीको सामना गर्न नसकिने बताए। सामान्य समीक्षाले मात्र नपुग्ने भन्दै प्रचण्डले विगतका कमजोरीको गम्भीर समीक्षा आवश्यक रहेको बताए।
‘हामीले कहीँ न कहीँ ठुलै त्रुटि गरेका छौँ। भयानक परिस्थिति सिर्जना हुने, आँखैअगाडि नेपालका धरोहर जलाइने, पार्टी कार्यालय र इतिहास जलाइने परिघटना के कारणले भयो?’ उनले प्रश्न गर्दै भने, ‘साम्राज्यवादले हस्तक्षेप गर्यो भनेर मात्र पुग्दैन।’
जडसूत्रवादी सोचबाट अहिलेको समस्या समाधान हुन नसक्ने उल्लेख गर्दै प्रचण्डले विगतका अनुभवले पनि विदेशी शक्तिसामु नझुकेका पार्टीहरूको इतिहास रहेको बताए।







