नेप्से ७.९० अंकले बढ्यो, बैंकिङ समूहले दियो बजारलाई बल

User Image Prime TV News २ घण्टा अगाडि
Image of नेप्से ७.९० अंकले बढ्यो, बैंकिङ समूहले दियो बजारलाई बल

काठमाडौ । अघिल्लो दिन १४.१७ अंकले बढेको सेयर बजार शुक्रबार थप ७.९० अंकले उकालो लागेको छ।

यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ७३४ अंकमा कायम भएको छ। शुक्रबारको नेप्से अंक गत जेठ २७ गतेयताकै उच्च हो। बजार वृद्धिमा बैंकिङ समूहको योगदान सबैभन्दा महत्वपूर्ण रह्यो। कारोबारका क्रममा दिउँसो ११ः४६ बजे नेप्से परिसूचक २ हजार ७४७ अंकसम्म पुगेको थियो, जुन दिनभरकै उच्च विन्दु हो।

त्यसपछि भने बजारको वृद्धि गति सुस्ताउँदै अन्तिममा २ हजार ७३४ अंकमा रोकिएको हो। शुक्रबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ। १५ कम्पनीको मूल्य भने स्थिर रह्यो। कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

नेप्से ०.२८ प्रतिशतले बढ्दा बैंकिङ समूह १.१७ प्रतिशतले उकालो लागेको छ। एक प्रतिशतभन्दा धेरै बढ्ने समूह बैंकिङ मात्रै रह्यो। त्यस्तै विकास बैंक समूह ०.९६ प्रतिशत, होटल तथा पर्यटन ०.४२ प्रतिशत, जीवन बीमा ०.१३ प्रतिशत, माइक्रोफाइनान्स ०.३६ प्रतिशत र निर्जीवन बीमा ०.०२ प्रतिशतले बढे।

यता व्यापार समूह ०.३५ प्रतिशत, अन्य ०.२६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५९ प्रतिशत, जलविद्युत् ०.१२ प्रतिशत र फाइनान्स समूह ०.१५ प्रतिशतले घटेका छन्। हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ।

त्यस्तै सगरमाथा जलविद्युत् ६.५९ प्रतिशत, खानीखोला हाइड्रोपावर ६ प्रतिशत, झापा इनर्जी ५.५० प्रतिशत र दरामखोला हाइड्रो इनर्जी ४.६८ प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक ७.३८ प्रतिशत, बोटलर्स नेपाल बालाजु ३ प्रतिशत, नाडेप लघुवित्त २.८९ प्रतिशत र सोलु हाइड्रोपावर २.८९ प्रतिशत रहेका छन्।

कारोबार रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेका छन्।