संविधानमा प्रतिकूल संशोधन रोक्न जनता सजग हुनुपर्छ : प्रदीप ज्ञवाली
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधन रोक्न नसकिने टिप्पणी गरेका छन्।
शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।संविधान निर्माणमा प्रमुख भूमिका खेलेका तत्कालीन नेकपा, नेकपा (एमाले) र नेपाली कांग्रेस एक ठाउँमा हुँदा पनि प्रतिनिधि सभाबाट सरकारका प्रतिकूल प्रयास रोक्न नसकिने अवस्था रहेको उनको भनाइ थियो।
उनले सरकारका पछिल्ला गतिविधिले मुलुक भूराजनीतिक जटिलतामा फस्ने जोखिम बढाएको दाबी गरे। पश्चिमी मुलुकका सैन्य अधिकारीहरूको नेपाल भ्रमण, ‘फ्री तिब्बत’ सम्बन्धी गतिविधि, दलाई लामासम्बन्धी कार्यक्रम तथा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले मुलुकलाई थप जटिल भूराजनीतिक अवस्थामा धकेल्न सक्ने उनको भनाइ थियो।
ज्ञवालीले संविधान संशोधनका नाममा संविधानका आधारभूत मूल्यमान्यतामाथि नै हस्तक्षेप गर्ने प्रयास भइरहेको टिप्पणी गरे। उनले मुलुकमा देखिएका राजनीतिक तथा संवैधानिक जोखिम समाधान गर्न लोकतान्त्रिक र वामपन्थी दलहरूबीच कार्यगत एकताको आवश्यकता रहेको बताए।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक प्रजातन्त्रलाई आफ्नो राजनीतिक दर्शनका रूपमा आत्मसात गरेको भए पनि सरकारका नीति र व्यवहार उक्त सिद्धान्तअनुसार नरहेको ज्ञवालीको टिप्पणी थियो।







