दक्षिणपूर्वी एसियाका अनलाइन स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार

User Image Prime TV News एक घण्टा अगाडि
Image of दक्षिणपूर्वी एसियाका अनलाइन स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार

काठमाडौ । दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरबाट ठगीमा परेका ८६० जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७३३ जना, म्यानमारबाट ११३ जना, लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जना नेपालीको उद्धार गरिएको जानकारी दिए।

उनका अनुसार हाल कम्बोडियाका जेलमा ४९ जना नेपाली रहेका छन्। उनीहरूलाई कानुनी सहायता उपलब्ध गराउन थाइल्यान्डस्थित नेपाली दूतावासले समन्वय गरिरहेको उनले बताए। मन्त्रालयले अनलाइन ठगीका घटनामा परेका नेपालीको उद्धारका लागि निवेदन दिनुअघि गैरकानुनी रूपमा विदेश पठाउने कार्यमा संलग्न व्यक्ति वा समूहविरुद्ध यथार्थ विवरणसहित नेपाल प्रहरी तथा सम्बन्धित निकायमा उजुरी दिन परिवार र आफन्तलाई आग्रह गरेको छ।

यसैबीच, मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको जनाएको छ। प्रवक्ता पौडेलले मध्यपूर्वमा शान्ति सम्झौताको पूर्ण पालना हुन नसक्दा द्वन्द्व लम्बिने संकेत देखिएको उल्लेख गर्दै त्यसको असर नेपाली नागरिकको सुरक्षा, रोजगारी तथा स्वदेशमा इन्धन, निर्माण, पर्यटनलगायत अर्थतन्त्रका विभिन्न क्षेत्रमा पर्न सक्ने बताए।

हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिकको अवस्था सामान्य रहेको र कुनै नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ। प्रवक्ता पौडेलले वार्ता र कूटनीतिमार्फत समस्या समाधान नै दीर्घकालीन उपाय भएको उल्लेख गर्दै ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गको निर्बाध उपयोग तथा दिगो शान्तिका प्रयासप्रति नेपालको समर्थन रहेको बताए।