रास्वपा सांसद गणेश पौडेलमाथि रौतहटमा कालोमसी प्रहार

User Image Prime TV News ४८ मिनेट अगाडि
Image of रास्वपा सांसद गणेश पौडेलमाथि रौतहटमा कालोमसी प्रहार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि रौतहटमा सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा कालोमसी प्रहार भएको छ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद पौडेलमाथि गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न भएपछि कालोमसी प्रहार भएको हो। सांसद पौडेलका अनुसार बिहीबार राति करिब ८ बजेदेखि ८:१५ बजेको बीचमा कार्यक्रम सकिएपछि फर्किने तयारी गरिरहेका बेला मास्क लगाएका दुई–तीन जनाको समूह पछाडिबाट आएर अँगालो हालेजस्तो गर्दै उनको ढाडमा कालोमसी छ्यापेर फरार भएको थियो।

पौडेलले घटनामा संलग्न व्यक्तिहरूले रातो झण्डा र पर्चा बोकेको तथा आफूहरू ‘मधेश मुक्ति अभियान’सँग सम्बन्धित रहेको संकेत दिएको दाबी गरेका छन्। उनका अनुसार कार्यक्रममा सहभागी स्थानीयवासी तथा समर्थकहरूले उनीहरूलाई नियन्त्रणमा लिन प्रयास गरे पनि अँध्यारोको मौका छोपेर उनीहरू भाग्न सफल भएका थिए।

घटनापछि स्थानीय प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको सांसद पौडेलले बताएका छन्। उनका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा ‘फगु’ उपनामले चिनिने एक व्यक्तिको संलग्नता हुन सक्ने आशंका गरिएको छ। प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।