बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले दिए राजीनामा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूको समाचारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि उनको राजीनामाको पुष्टि गरेको छ। अप्रिल २०२३ देखि राष्ट्रपतिका रूपमा कार्यरत शाहाबुद्दिनले देशको राजनीतिक रूपमा संवेदनशील अवधिमा जिम्मेवारी सम्हालेका थिए।
सन् २०२४ को अगस्टमा सरकारी जागिरमा आरक्षणसम्बन्धी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएकी थिइन्। त्यसपछिको संक्रमणकालीन अवधिमा अन्तरिम सरकार गठन नहुँदासम्म शाहाबुद्दिनले राष्ट्रप्रमुखका रूपमा भूमिका निर्वाह गरेका थिए।
बंगलादेशको संविधानअनुसार राष्ट्रपति राष्ट्रप्रमुख भए पनि कार्यकारी अधिकार प्रधानमन्त्री र मन्त्रिपरिषदमा निहित रहने व्यवस्था छ। शाहाबुद्दिनलाई शेख हसिनाका निकट सहयोगीका रूपमा हेरिने गरिएको थियो।
रोयटर्सका अनुसार शेख हसिनाले स्वदेश फर्किने घोषणा गरेपछि सरकारमाथि उनका निकट सहयोगीहरूलाई उच्च पदबाट हटाउन सार्वजनिक दबाब बढेको थियो। यही पृष्ठभूमिमा सरकारको आग्रहपछि शाहाबुद्दिनले पदत्याग गर्न सहमति जनाएको बताइएको छ।







