रेक्टर, रजिस्ट्रार र डिन नियुक्तिमा सरकारको हस्तक्षेप नहुने : मन्त्री पोखरेल
Prime TV News ५७ मिनेट अगाडि 
काठमाडौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अब विश्वविद्यालयमा रेक्टर, रजिस्ट्रार, डिनलगायतका पदाधिकारीको नियुक्तिमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयको स्वायत्तता सुदृढ गर्न उपकुलपतिलाई आफ्नो कार्य टोली आफैँ चयन गर्ने वातावरण बनाइएको बताए। “विश्वविद्यालयहरूले अहिलेसम्म स्वतन्त्र र स्वायत्त रूपमा अभ्यास गर्न पाएका छैनन्,” उनले भने, “अब हस्तक्षेप हुँदैन। उपकुलपतिलाई आफ्नो टिम आफैँ बनाउन भनेका छौँ। रजिस्ट्रार, रेक्टर, डिनलगायतका पदाधिकारीको नियुक्तिमा सरकारले हस्तक्षेप गर्दैन। विश्वविद्यालय स्वायत्त हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ।”
मन्त्री पोखरेलले सरकारले विश्वविद्यालयको दीर्घकालीन विकासका लागि स्पष्ट नीति र दृष्टिकोण तय गरेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न उपकुलपतिहरूलाई आग्रह गरिएको बताए। तर, त्यसलाई राजनीतिक हस्तक्षेपका रूपमा लिन नहुने उनको भनाइ थियो।
“विश्वविद्यालयलाई कस्तो बनाउने भन्ने सरकारको भिजन छ। त्यसअनुसार उहाँहरूले काम गर्नुपर्छ। तर, त्यहाँ कुनै पनि राजनीतिक हस्तक्षेप हुँदैन। उहाँहरूले स्वतन्त्र रूपमा आफ्नो टिम बनाएर काम गर्न सक्नुहुन्छ,” उनले भने।
मन्त्री पोखरेलले पहिलोपटक विश्वविद्यालयका उपकुलपति मेरिटका आधारमा नियुक्त गरिएको दाबी पनि गरे। उनका अनुसार नियुक्त भएका उपकुलपतिहरू अन्तर्वार्ताअघि आफूलाई भेट्न नआएको र नियुक्तिपत्र बुझ्न आउँदा समेत नियुक्ति प्रक्रियाको निष्पक्षताप्रति आश्चर्य व्यक्त गरेका थिए।







