हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीकी आमा र बहिनी काठमाडौं आइपुगे
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली युवा विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान कतार एयरवेजको नियमित उडानमार्फत काठमाडौं आइपुगेका छन्।
उनीहरू आफ्नो छोराको अवस्थाबारे जानकारी लिन र सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न पहिले इजरायल र त्यसपछि अमेरिका पुगेका थिए। तर, उनीहरू अमेरिका बस्दाबस्दै हमासले विपिनको मृत्यु भएको पुष्टि गर्दै शव इजरायललाई हस्तान्तरण गरेको थियो।
हाल विपिनको शव नेपाल ल्याउने प्रक्रिया अघि बढेको र आवश्यक कागजी प्रक्रिया मिलाउन इजरायल र नेपाली अधिकारीबीच समन्वय भइरहेको जनाइएको छ। विपिनकी आमा र बहिनीको अमेरिका, इजरायल र नेपालबीचको सम्पूर्ण यात्राको आवागमन व्यवस्थापन इजरायली सरकारले गरेको हो।
यस क्रममा उनीहरूले इजरायली अधिकारी, नेपाली कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय मानव अधिकार समूहहरूसँग भेटघाट गरेका थिए। २ वर्षअघि विपिन जोशी अन्य १६ नेपाली विद्यार्थीहरूसँगै इजरायलको "लर्न एण्ड अर्न" कार्यक्रम अन्तर्गत अध्ययन तथा कृषि कार्यका लागि गएका थिए।
उनीहरू गाजा नजिकैको किबुत्ज सहरमा बसोबास गर्दै आएका थिए। २०८० सालको असोजमा हमासले इजरायलमाथि हमला गर्दा सोही स्थानमा रहेका नेपालीहरू पनि लक्षित बनेका थिए। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो। उनको अवस्था लामो समयसम्म अज्ञात रहँदै आएको थियो।













