जितेन्द्र सोनलले मुख्यमन्त्रीको शपथ लिए
Prime TV News २ महिना अगाडि 
काठमाडौ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई शपथ गराएकी हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनल बुधबार साँझ पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई लोसपालगायत कुल ५६ जना सांसदले समर्थन गरेका छन्। साथै, नागरिक उन्मुक्ति पार्टीका एक मात्र सांसदले पनि सोनललाई समर्थन जनाएका छन्।
प्रदेश सरकार गठनका लागि संविधानको धारा १६८(२) अनुसार बहुमत जुटाएर सोनलले दावी पेश गरेका थिए। उनको नेतृत्वमा गठबन्धन सरकारले अबको दिनमा मधेश प्रदेशमा राजनीतिक स्थायित्व र विकासमा प्राथमिकता दिने जनाइएको छ।
मुख्यमन्त्री पदमा नियुक्त भएपछि सोनलले मधेशको हितलाई केन्द्रमा राखेर सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।












