ट्रम्पको आरोप : सी, पुटिन र किम अमेरिकाविरुद्ध षड्यन्त्र गर्दैछन्
Prime TV News १० महिना अगाडि 
काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा आयोजना गरेको सैनिक परेडमा तीनै नेताहरूको उपस्थिति देखिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।
उक्त परेडमा राष्ट्रपति सीसँगै पुटिन, किम जोङ उनसहित विभिन्न २६ राष्ट्रका प्रमुखहरू सहभागी भएका थिए । चीनले यस परेडमार्फत आफ्नो सैन्य र कूटनीतिक शक्ति प्रदर्शन गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले लेखेका छन्, “भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो हार्दिक अभिवादन पुर्याइदिनुहोस्, तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनु भएको छ।”
साथै ट्रम्पले चीनलाई दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले पुर्याएको योगदान सम्झन पनि आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पको यो टिप्पणीले हालको जटिल भू-राजनीतिक सम्बन्ध र शक्ति सन्तुलनको विषयमा फेरि बहस सिर्जना गरेको छ।







