आईसीसी पुरुष टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै २० टोलीको टुंगो लाग्यो

User Image Prime TV News १० महिना अगाडि
Image of आईसीसी पुरुष टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै २० टोलीको टुंगो लाग्यो

काठमाडौ । आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै २० टोलीको टुंगो लागेको छ । एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा यूएईले जापानलाई ८ विकेटले पराजित गरेसँगै विश्वकपमा सहभागी हुने सबै टोलीको टुंगो लागेको हो ।

यसअघि यस क्षेत्रबाट नेपाल र ओमानले विश्वकमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए । अल अमिरात क्रिकेट मैदानमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रनको सामान्य योगफल तयार पारेको थियो ।

जवाफमा यूएईले ४७ बल बाँकी रहँदै २ विकेट गुमाए जित हात पार्यो। यूएईका लागि अलिसान सराफुले ४६ कप्तान महोम्मद वासीमले ४२ र राहुल चोप्डाले १४ रनको योगदान दिए । एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सहभागी ९ मध्य नेपाल, ओमान र यूएईले विश्वकपको यात्रा तय गरेका हुन् ।

यसअघि भारत र श्रीलंकाले आयोजकको रुपमा विश्वकपमा स्थान बनाएका थिए भने अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले २०२४ टी–२० विश्वकपको शीर्ष ७ टोलीको रुपमा अघि बढेका थिए ।

आयरल्यान्ड, न्यूजिल्यान्ड र पाकिस्तान वरियताका आधारमा विश्वकपमा पुगेका हुन् । यस्तै अमेरिका क्षेत्रीय छनोटबाट क्यानडा, युरोप क्षेत्रीय छनोटबाट इटाली र नेदरल्याण्ड्स तथा आफ्रिका क्षेत्रीय छनोटबाट नामिबिया र जिम्बावेले विश्वकपको यात्रा तय गरिसकेका थिए ।