नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु, ३३ जना प्रतिवादी

User Image Prime TV News एक महिना अगाडि
Image of नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु, ३३ जना प्रतिवादी

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै भएको बहुचर्चित ठगी प्रकरणको अन्तिम सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। न्यायाधीश धुव्रराज कार्कीको इजलासमा सुनुवाइ जारी रहेको छ। प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्री, सचिव, राजनीतिक दलका नेता, सरकारी अधिकारीसहित ३३ जना प्रतिवादी छन्।

वि.स २०७६ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गठन भएको कार्यदलमार्फत नक्कली शरणार्थी बनाइ अमेरिका पठाइने भन्दै ठगी सुरु भएको थियो। पछि कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा कार्यदलको प्रतिवेदनमा अनुसूची थपेर नक्कली नाम राखिएको अनुसन्धानबाट खुलेको हो।

भुटानी शरणार्थी प्रकरणमा अहिले ११ जना पुर्पक्षमा कारागारमा छन्, जसमा नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता आङटावा शेर्पालगायत छन्। ७ जना धरौटीमा रिहा, जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पीए नरेन्द्र केसी, टेकनाथ रिजाल आदि छन्। ४ जना साधारण तारेखमा, र ११ जना अझै फरार छन्।

प्रकरणमा ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको छ। पीडितबाट उठाइएको रकम ३० करोडभन्दा बढी रहेको अनुसन्धानमा उल्लेख छ।