तिहार अर्थात उज्यालोको पर्व आजदेखि सुरु
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपालभर आजदेखि उज्यालोको पर्व तिहार अर्थात् यमपञ्चक विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो १:२३ बजेदेखि त्रयोदशी तिथि लागेसँगै प्रारम्भ भएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दिउँसो १:२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी लाग्ने भएकाले आज धनतेरस, अर्थात् धनत्रयोदशी पर्व मनाइँदैछ। यही दिनदेखि यमदीपदान पनि सुरु हुने समितिले जनाएको छ ।
यस वर्ष काग तिहार आइतबार परेको छ। बेलुकी त्रयोदशी परेका दिन धनत्रयोदशी र यमदीपदान मनाउने र भोलिपल्ट प्रातःकाले काग तिहार गर्ने शास्त्रीय परम्परा अनुसार यो निर्णय गरिएको हो।
धर्मशास्त्रका अनुसार यमदीपदान गर्दा मृत्युका देवता यमराजका यातनाबाट मुक्ति मिल्ने विश्वास छ। परिवारका सदस्य सङ्ख्याका आधारमा दक्षिण फर्काएर दीपदान गर्नुपर्ने प्रचलन छ।
यसै क्रममा आइतबार बिहान नरक स्नान गरी कुकुर तिहार मनाइनेछ। बिहान अपामार्गसहित स्नान गरी दीप प्रज्वलन गरेर नदीमा प्रवाह गर्दा नरकको पीडा नपाइने विश्वास रहिआएको छ। सोही दिन बेलुकी लक्ष्मीपूजा पनि गरिनेछ।
समितिका अनुसार कात्तिक ३ गते दिउँसो २:५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्ने निर्णय गरिएको हो। रातमा औँसी तिथि पर्ने भएकाले यस वर्ष लक्ष्मीपूजाको विशेष शुभ साइत कात्तिक ३ गते राति हुनेछ।
गाई, गोरु, गोवर्द्धन पूजा तथा आत्म (म्ह) पूजा कात्तिक ५ गते बुधबारका दिन मनाइनेछ। सोही दिन नेपाल संवत् ११४६ सुरु हुनेछ। प्रतिपदाका दिन सूर्योदयसहित नयाँ वर्षको आरम्भ गर्ने परम्परा रहिआएको छ।
यस वर्ष भाइटीका बिहीबार कात्तिक ६ गते परेको छ। भाइटीकाको शुभ साइत बिहान ११:३९ बजेका लागि तोकिएको छ। भाइटीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्केर बस्ने परम्परा रहेको उनले जानकारी दिए।
सामान्यका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत मानिन्छ। सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै आपत्ति नरहेको समितिको भनाइ छ ।












