ओलीको चेतावनी : मौखिक आदेशले देश चल्दैन, जनताले हिसाब माग्नेछन्

User Image Prime TV News एक महिना अगाडि
Image of ओलीको चेतावनी : मौखिक आदेशले देश चल्दैन, जनताले हिसाब माग्नेछन्

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको मौखिक आदेशका नाममा भइरहेको दमनकारी गतिविधिप्रति कडा आपत्ति जनाएका छन्।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले आफूलाई काठमाडौं उपत्यका बाहिर जान रोकिएको घटनालाई लोकतन्त्रमाथिको अपमान भनेका छन्।

ओलीले भने, 'नेपालमा मौखिक आदेशले देश चल्न थाल्यो। कानून कहाँ गयो? संविधान कहाँ गयो? जनताको अधिकार कता हरायो?' उनले थपे, 'म नेपालभित्र जहाँ आवश्यक छ, त्यहाँ जान्छु। कसैले रोक्छ भने त्यो गैरकानुनी हो।'

उनका अनुसार सरकारले विपक्षी नेताहरूलाई रोक्दै चुनावी तयारी गराउने प्रयास ‘नाटक’ मात्र हो। ओलीले व्यंग्य गर्दै भने, 'दलहरूलाई हदबन्दी गरेर चुनाव गर्ने भनिन्छ, अनि यो लोकतन्त्र हो रे! जनतालाई बेवकुफ ठानिएको छ।'

अध्यक्ष ओलीले आगामी निर्वाचन निष्पक्ष नहुने संकेत पनि गरेका छन्। उनले भने, 'सुरक्षा निकायमा अपराधीहरूलाई जिम्मा दिइन्छ, प्रहरीको बर्दीमा बन्दुक बोकेर बुथ कब्जा गर्ने तयारी हुन्छ। यसरी चुनाव हुन्छ? कि अपराधीसँग सम्झौता भइसकेको छ?'

उनले पार्टी कार्यकर्तालाई संयमित रहँदै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्न निर्देशन दिएका छन् ।