अध्यक्ष पद मेरो लक्ष्य होइन, नयाँ पुस्तालाई नेतृत्व दिन तयार छु :प्रचण्ड
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वबाट हट्न सक्ने संकेत दिएका छन्।
शनिबार पेरिसडाँडामा आयोजित अखिल नेपाल ट्रेड युनियन महासङ्घको कार्यक्रममा उनले 'अध्यक्ष पद होइन, आन्दोलन नै आफ्नो प्राथमिकता' रहेको बताएका हुन्।
उनले भने, 'कतिपयले अध्यक्ष पद छोड्नू पर्छ भन्छन्, मलाई त्यो पदको मोह छैन। मैले त्यो कुरा मनन गरेरै केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरेको हुँ र आफू संयोजक बनेको हुँ। महाधिवेशनमा जस्तोसुकै जिम्मेवारी लिन वा त्याग गर्न म तयार छु।'
प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलबीच एकता प्रयासलाई पार्टी एकीकरणको नयाँ अध्यायका रूपमा चित्रित गरे। उनले जेनजी पुस्ताको भूमिकाबारे पनि धारणा राख्दै भने, 'जेनजी युवाहरू हाम्रा उत्तराधिकारी हुन्। हामी हिजोका क्रान्तिकारी हौँ, उनीहरू आजका क्रान्तिकारी हुन्। अहिले पनि प्रतिगामीहरू उनीहरूलाई आतंककारी ठहर्याउन खोजिरहेका छन्, तर इतिहास उनीहरूकै पक्षमा बोल्नेछ।'
कार्यक्रममा उनले सबै क्रान्तिकारी शक्तिलाई एकजुट भएर देशलाई समृद्ध र न्यायपूर्ण बनाउन आग्रह गरे।







